काठमाडौं, वैशाख २० :

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न बनेका संवैधानिक र कानुनी प्रावधानलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना सन्देश प्रवाह दिँदै अध्यक्ष दाहालले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पत्रकार र पत्रकारिता क्षेत्रसँग सम्बन्धित सबै सङ्घसंस्था, सञ्चार माध्यम र अभिव्यक्ति स्वतन्त्रता पक्षधर सबैमा शुभकामना व्यक्त गरेका छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि विभिन्न समयमा भएका सङ्घर्षमा प्राणोत्सर्ग गर्ने सम्पूर्ण पत्रकार सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै अध्यक्ष दाहालले यस दिवसले राज्यलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्न एवं पत्रकारहरूलाई सत्य, निष्पक्ष, नैतिक र उत्तरदायी पत्रकारिता गर्नेतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।

‘यस वर्षको प्रेस स्वतन्त्रता दिवस प्रेस स्वतन्त्रता र सञ्चार माध्यममा कृत्रिम बुद्धिमत्ताको प्रभावका सन्दर्भमा केन्द्रित रहेको छ,’ अध्यक्ष दाहालले सन्देशमा भनेका छन्, ‘विज्ञान प्रविधिको नवीनतम विकासका रूपमा एआईको प्रवेशले पत्रकारिता क्षेत्रमा यसको सकारात्मक योगदानसँगै गलत सूचना, निगरानी र डिपफेकजस्ता चुनौतीहरूसमेत सिर्जना गरेको छ । पत्रकारिता क्षेत्रले यस प्रविधिलाई सदुपयोगसहित उत्तरदायी, पारदर्शी र नैतिक पत्रकारिताको अभ्यासलाई निरन्तरता दिनुपर्ने आवश्यकता अझ बढाएको छ ।’

नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनका लागि भएका विभिन्न सशक्त र सशस्त्र सङ्घर्षको बलमा प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नयाँ संविधान र त्यसको कार्यान्वयनमा नेपाली प्रेसले निर्विकल्प भूमिका खेलेको यथार्थलाई सबैले स्वीकार्नु पर्ने स्पष्ट पार्दै अध्यक्ष दाहालले नेपाली पत्रकारिता जगतले दुर्गम क्षेत्र, पीडित वर्ग, सीमान्तकृत समुदाय र आवाजविहीनका आवाजलाई राष्ट्रिय बहसको केन्द्रमा ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका छन् ।

नेपालको संसदीय अभ्यासलाई अझ प्रभावकारी, पारदर्शी र जनमुखी बनाउन प्रेस जगतले संसद्, सरकार र राज्यका समग्र पक्षलाई निरन्तर दिएको खबरदारी र सुझावले रचनात्मक सहयोग पुगेको उनले उल्लेख गरेका छन् ।

सञ्चारकर्मीहरूले कुनै पनि दबाब, प्रभाव र अवरोधबिना पेसागत उत्तरदायित्व निर्वाह गर्न पाउने वातावरण सुनिश्चित गर्न राज्य, समाज र सबै सरोकारवालाहरूलाई अध्यक्ष दाहालले सचेत गराएका छन् ।