काठमाडौं, वैशाख २० :

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा बोर्डको दाबी भुक्तानी मूल्यांकन गर्न जनशक्ति अभावमा देखिएको समस्या समाधान गर्न अस्थायी दरबन्दी थप्न गरेको प्रस्ताव मन्त्रिपरिषद्‌ले स्वीकृत गरेको छ ।

गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकबाट बोर्डका लागि चार सय दुईजना जनशक्ति थपिने भएका छन् । बोर्डका लागि मन्त्री पौडेलले अधिकृतस्तरका ५६ जना तथा सहायकस्तर र श्रेणीविहीन ३४६ जना जनशक्तिको अस्थायी दरबन्दी स्वीकृतिका लागि प्रस्ताव लगेका थिए ।

हाल बोर्डमा जनशक्ति अभावमा गत साउनसम्मको दाबीमा मात्र मूल्यांकन सकिएको छ । बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले थपिएका अस्थायी जनशक्तिले चालु आवभित्रै बाँकी दाबिमा मूल्यांकन सक्ने लक्ष्यमा सघाउने विश्वास व्यक्त गरे ।

स्वास्थ्य बिमा बोर्डको भुक्तानी क्षमता बढाउन अस्थायी जनशक्ति थप्ने स्वास्थ्यमन्त्री पौडेलको प्रस्ताव स्वीकृत

मन्त्रिपरिषद्‌को निर्णयअनुसार सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा १२९, गेटा अस्पताल धनगढीमा १४१ तथा डडेलधुरा अस्पतालमा ३१३ जनाको अस्थायी दरबन्दी स्वीकृत भएको छ ।

यसले ती अस्पतालहरुले सञ्चालनमा खेपिरेहको समस्या समाधानमा सहजता ल्याउने विश्वास गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । ‘संगठन तथा व्यवस्थापन संरचनाको काम नसकिंदासम्म यसले सेवा सञ्चालनमा बोर्ड र अस्पतालहरुमा सहजता आउने विश्वास गरिएको छ,’ उनले भने ।