
भारतले पाकिस्तानसँगको सिंधु जल सन्धि निलम्बन गरेपछि चिनाब नदीको पानी रोकेको छ।
भारतीय समाचार संस्था पीटीआईका अनुसार जम्मुको रामबन जिल्लास्थित बागलिहार जलविद्युत परियोजनाबाट चिनाब नदीको बहाव रोकिएको हो। त्यस्तै, कश्मीरस्थित किशनगंगा बाँधमार्फत झेलम नदीको पानीसमेत रोक्ने तयारी भइरहेको जनाइएको छ।
यसबीच, भारतका रक्षा मन्त्री राजनाथ सिंहले नयाँ दिल्लीमा आयोजित कार्यक्रममा बोल्दै भारतमाथि आँखा लगाउनेहरुलाई कडा जवाफ दिने बताएका छन्। उनले भने, ‘रक्षा मन्त्रीको हैसियतले म आश्वस्त गराउन चाहन्छु कि देशवासीले जे चाहेका छन्, त्यो निश्चित रूपमा पूरा हुनेछ।’
यता, भारतको पंजाब राज्यअन्तर्गत पर्ने सीमावर्ती क्षेत्र फिरोजपुरको सेनाका क्याम्प र आसपासका गाउँहरूमा ‘ब्ल्याकआउट अभ्यास गरिएको छ। सो क्रममा ३० मिनेटसम्म पूरै क्षेत्र अन्धकारमा राखिएको र सबै विद्युत आपूर्ति बन्द गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।