काठमाडौँ, भदौ १७ :

आज संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा प्रस्तावित १७ जना राजदूतको सुनुवाइ शुरु हुने समिति सभापति ईश्वरीदेवि न्यौपानेले जानकारी दिनुभयो ।

आज विभिन्न चार देशका लागि प्रस्तावित नेपाली राजदूतहरूको सुनुवाइ गर्ने कार्यसूची रहेको छ।

पहिलो दिन सुनुवाइका लागि चीनका लागि प्रस्तावित प्रा. डा कृष्णप्रसाद ओली, भारतका लागि शंकर शर्मा, जर्मनीका लागि डा. शैल रूपाखेती र डेनमार्कका लागि प्रस्तावित सुम्निमा तुलाधरलाई बोलाइएको छ । 

यसअघि शुक्रबार बसेको समितिको बैठकमा प्रस्तावित राजदूत विरुद्ध परेका उजुरीमाथि छलफल भएको थियो। 

गत साउन १४ गतेको मन्त्रिपरिषद् बैठकले विभिन्न मुलुकका लागि १७ जना राजदूत सिफारिस गरेको थियो।

यसैबीच आज विभिन्न ३ वटा संसदीय समितिका बैठक बस्दै छन्।

बिहान ९ बजे बस्ने प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिको बैठकमा बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि संशोधन कर्तासँग छलफल गर्ने कार्यसूची रहेको छ। 

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्दै छ। बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ का सम्बन्धमा उपसमितिको प्रतिवेदन माथि छलफल हुनेछ।

त्यस्तै, बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ मा सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।