काठमाडौं, वैशाख २३ :

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि इजरायलका महामहिम राजदूत श्मुलिक एरी बासले शिष्टाचार भेट गरेका छन् ।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा मंगलबार भएको भेटमा दुई मुलुकबीचको द्विपक्षीय सम्बन्ध, कृषि तथा श्रम क्षेत्रमा सहयोगलगायत विषयमा कुराकानी भएको छ ।

उपराष्ट्रपति यादवले सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएय नेपाल र इजरायलबीच मित्रता, सद्भाव, समझदारी तथा सहयोगपूर्ण सम्बन्ध कायम रहिआएको बताए ।

उनले दुई मुलुकबीच विभिन्न सम्झौता भएको र केही प्रक्रियामा रहेको जानकारीमा आएको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए । ‘नेपाल र इजरायलबीच आर्थिक, व्यापारिक, पर्यटन तथा लगानीका क्षेत्रमा सहकार्य गर्ने प्रमुख सम्भावना छ,’ उनले भने, ‘यी क्षेत्रहरुमा अवसरको खोजी गरी दुवै मुलुकले लाभ लिन सक्छन् ।’

उनले इजरायलमा उल्लेख्य संख्यामा महिला कामदारसहित ४५ सय नेपाली विभिन्न क्षेत्रमा कार्यरत रहेकाले उनीहरुको तलब, बिमा, बिदालगायत सुविधा सुनिश्चित गराउने सन्दर्भमा इजरायल सरकारको सकारात्मक पहल अपेक्षित रहेको बताए ।

‘नेपाली विद्यार्थीका लागि इजरायल सरकारले सञ्चालनमा ल्याएको ११ महिने ‘लर्न एन्ड अर्न’ कार्यक्रमले कृषि विषयमा सीप सिक्न तथा त्यससँग सम्बन्धित अत्याधुनिक प्रविधिबारे जानकारी पाउने मात्र नभई स्वयं आम्दानीसमेत गर्न सक्ने अवसर दिएकामा धन्यवाद दिन चाहन्छु,’ यादवले भने, ‘दुर्भाग्यवश यस कार्यक्रमअन्तर्गत इजरायल गएका केही नेपाली विद्यार्थीहरुले ७ अक्टोबर २०२३ मा हमासको आक्रमणमा परी ज्यान गुमाउनुको साथै विपिन जोशीको अवस्थाबारे हालसम्म पनि जानकारी प्राप्त हुन सकेको छैन । यस विषयमा इजरायल सरकारले विशेष पहल गरी निज जोशीलाई नेपाल फिर्ता गराउन प्राथमिकता दिन विशेष अनुरोध गर्दछु ।’

उपराष्ट्रपति यादवले नेपाल र इजरायलले संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चहरुमा आपसी सहयोग र सहकार्य गर्दै आएकामा यसमा निरन्तरता पाउनेबारे आफू विश्वस्त रहेको बताए ।

नेपालका लागि इजरायलका राजदूत बासले दुई मुलुकबीच सहयोग र सहकार्य निरन्तर जारी रहने उल्लेख गर्दै इजरायलमा रहेका नेपाली कामदाहरुसँग भएको सम्झौताबमोजिम सुविधा पाए/नपाएको भन्नेबारे विभिन्न संघ/संस्थाहरुले अनुगमन गर्ने गरेको बताए ।

‘हाम्रा दुई मुलुकबीच केही सम्झौताहरु भइसकेको र केही प्रक्रियाका क्रममा रहेकाले ती सम्झौता पनि हुने विश्वास व्यक्त गर्दछु,’ उनले भने, ‘इजरायलबाट विभिन्न किसिमको प्रशिक्षण लिएर आएकाहरु नेपालमा सफल भइरहेको जानकारी पाउँदा खुसी लागेको छ ।’