काठमाडौं, वैशाख २३ :

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राजसंस्था जनमतमा गएर वा आन्दोलनबाट नभई छलकपटबाट फालिएको बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै शाहीले कसैको राजनीतिक आस्थामाथि प्रहार गर्नु राम्रो नहुने बताएका हुन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई बाघको संज्ञा दिँदै उनले रङ मिल्यो भन्दैमा बिरालो बाघ बन्न नसक्ने टिप्पणी गरे । ‘राष्ट्रवादी भनेको राष्ट्रवादी हुन्छ,बाघ बूढो भए पनि बाघै हो । बिरालोको रङ मिल्यो भन्दैमा बिरालो बाघ हुन्छ त ? त्यसैले यो देशको इतिहास हो राजसंस्था । बाघ बाघै हो । रङ मिल्यो भन्दैमा बिरालो बाघ हुन सक्दैन, राजा राजै हो,’ उनले भने ।

उनले संविधानको धारा १७ (क) मा फरक विचार राख्ने व्यक्तिलाई स्वतन्त्रताको हकलाई बेवास्ता गरी सरकारले नीति तथा कार्यक्रम ल्याएको दाबी गरे । ‘कृषिका क्रान्ति गर्ने भनिएको छ, तर एउटा माछा बेच्न सकिँदैन । देशमै उत्पादन भएको जुम्लाको स्याउ बेच्न सकिएको छैन,’ उनले भने, ‘कम्तिमा कृषिजन्य पदार्थ बाहिरबाट आयात नगर्ने नीति बनाइयो भने जनता आफैँ उत्पादनमा लाग्छन् ।’