
हेटौँडा उपमहानगरपालिका–१७ स्थित गौरीगाउँमा सडक भासिएर बेपत्ता भएको गाडी पाँच दिन बितिसक्दा पनि फेला परेको छैन। गत शुक्रबार साँझ हराएको गाडीको खोजीका लागि खटिएको भूगर्भविद्हरूको टोलीले आज पनि दिनभर प्रयास गर्यो तर फेला पार्न सकेन।
भूगर्भविद् नारायण अधिकारीको नेतृत्वमा खटिएको पाँच सदस्यीय टोलीले घटनास्थलमा म्याग्नेटो मिटरको प्रयोग गरी जमिनको चुम्बकीय क्षेत्र र माटोको अवस्थाबारे अध्ययन गरिरहेको छ। प्रारम्भिक निष्कर्षअनुसार घटनास्थलको माटो दलदले प्रकृतिको रहेको र गाडी त्यसैमा दबिएको हुन सक्छ ।
शुक्रबार साँझ हेटौँडाबाट माछाको दाना लिन बजारतर्फ जाँदै गरेको ना ४ च ४८३३ नम्बरको डीआई गाडी गौरीगाउँस्थित पोखरी छेउमा निर्माण गरिएको अस्थायी कच्ची सडकको हिलोमा फसेको थियो। निकाल्ने प्रयास भइरहेको अवस्थामा अचानक जमिन भासिएर गाडी खाल्टोमै बेपत्ता भएको थियो।
घटनापछि गाडीको अवस्था र स्थान पत्ता लगाउन भूगर्भविद्हरूको टोलीले भौगोलिक बनावट, माटोको अवस्थाबारे अध्ययन गरिरहेको छ। यद्यपि अहिलेसम्म गाडीको अवस्थाबारे ठोस प्रमाण भेटिएको छैन।