
भारत सरकारले पाकिस्तान र पाकिस्तान प्रशासित काश्मिरका नौ स्थानमा आक्रमण गरेको बताएको छ ।
आक्रमणमा दुई बालबालिकासहित सात जनाको मृत्यु भएको बताइएको छ । पाकिस्तानी सेनाले भने तीन स्थानमा आक्रमण भएको जनाएको छ । पाकिस्तान प्रशासित काश्मिरको मुजफ्फराबादका बासिन्दाले ठूलो विष्फोटबाट आफूहरू स्तब्ध भएको बताएका छन् ।
गत महिना काश्मिरमा पर्यटकमाथि भएको आतङ्ककारी आक्रमणपछि भारत र पाकिस्तानबीचको सम्बन्धमा तीव्र गिरावट आएको छ ।
दिल्लीले पहलगाममा २६ जनाको ज्यान जाने गरी भएको आतङ्ककारी आक्रमणको जवाफमा उक्त हमला गरिएको जनाएको छ । पाकिस्तानले उक्त आक्रमणलाई 'कायरतापूर्ण आक्रमण' भनेको छ र उसले आफ्नो रोजाइको स्थान र समयमा त्यसको जवाफ दिने समेत बताएको छ ।
यसलाई बढ्न नदिन ठूलो कुटनीतिक प्रयास आवश्यक रहेको बताईएको छ।
भारत प्रशासित काश्मिरमा दशकौँ लामो विद्रोह भएको छ जस्का कारण हजारौंले ज्यान गुमाईसकेका छन् । काश्मिरमा भारत र पाकिस्तान दुवैले आफ्नो दाबी गर्दै आएका छन् ।
पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले राष्ट्रिय सुरक्षा समिति (एनएससी) को बैठक आज बिहान बोलाउनुभएको छ ।
