
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक निशा डाँगीले सरकार जनताका दैनिक समस्याभन्दा पनि पदपूर्तिमा अल्झिएको आरोप लगाएकी छन् ।
उनले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक र नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सरकार अनावश्यक ढंगले अल्झिएको बताउँदै यस्ता विषयमा समय खर्च नगर्न सुझाव दिएकी छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै डाँगीले भनिन्, ‘सरकारले मेरिटोक्रेसीको आधारमा नियुक्ति गर्न सक्थ्यो, तर नियुक्तिमा मात्रै समय खर्चिएको छ। जनताका असल कामभन्दा यस्ता हावादारी कुरामा सरकार अल्झिएको देखिन्छ।’
उनले राजधानी काठमाडौं जोड्ने प्रमुख सडकहरू असुरक्षित रहेको, लाखौं नागरिकले दैनिक जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्थालाई सरकारको ध्यानाकर्षण गराइन्। ‘सरकारले जनताको पीडामा ध्यान दिनुपर्ने हो, तर गभर्नर र कार्यकारी निर्देशक कसलाई बनाउने भन्नेमा मात्र केन्द्रित देखिन्छ,’ डाँगीले भनिन्, ‘१०–११ महिना भइसक्यो, सरकार अझै पदपूर्तिमै रोकिएको छ।’
उनले जनताले भागबण्डा हेर्न नभई सेवा चाहेको उल्लेख गरिन्।सचेतक डाँगीले नेपाल विद्युत् प्राधिकरणको आर्थिक अवस्थाबारे ऊर्जा मन्त्री दीपक खड्काले संसद्मा आएर स्पष्ट जानकारी दिनुपर्ने माग पनि गरिन्।
उनले केही महिना अघि ४६ अर्ब ४७ करोड नाफामा रहेको विद्युत् प्राधिकरण एक महिनामै ५ अर्ब २६ करोड घाटामा गयो भन्ने खबर बाहिर आउनु गम्भीर विषय भएको बताइन् । छोटो समयमै यस्तो कसरी भयो ? भन्दै उनले मन्त्रीले सदनमा आएर स्पष्ट पार्नुपर्ने माग गरिन् ।
