
भारतले पाकिस्तान तथा पाकिस्तान प्रशासित कश्मीरको भूभागमा आक्रमण गरेको दाबी सार्वजनिक भएपछि संयुक्त राष्ट्रसंघले दुवै मुलुकलाई संयमित रहन अपिल गरेको छ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन दुजारिकले जारी गरेको वक्तव्यमा गुटेरेस ‘नियन्त्रण रेखा र अन्तर्राष्ट्रिय सिमानाको पारिपट्टि भारतीय सैन्य कारबाहीप्रति गम्भीर चिन्तित’ रहेको उल्लेख गरिएको छ।
उनले भारत र पाकिस्तानलाई सैन्य शक्ति प्रयोगमा अधिकतम संयमता अपनाउन आग्रह गरेका छन्। दुजारिकले भने, ‘भारत र पाकिस्तानबीचको कुनै पनि प्रकारको सैन्य भिडन्त सम्पूर्ण विश्वका लागि असह्य हुनेछ।’
यसअघि ५ मेमा महासचिव गुटेरेसले सामाजिक सञ्जाल ट्विटरमा पोस्ट गर्दै भारत–पाकिस्तानबीचको हालको तनाव पछिल्ला वर्षहरूकै गम्भीर रहेको बताएका थिए।
उनले २२ अप्रिलमा भारतको पहलगाममा भएको आतंकवादी हमलाको कडा निन्दा गर्दै यस्ता घटनाले क्षेत्रीय तनाव झनै बढाउने खतरा रहेको चेतावनी दिएका थिए।
भारत र पाकिस्तान दुवै परमाणु हतियारसहितका राष्ट्र हुन्, जसले गर्दा दुवै पक्षबीचको कुनै पनि सैन्य भिडन्त गम्भीर संकटमा रुपान्तरण हुन सक्ने अन्तर्राष्ट्रिय चिन्ता बढ्दो छ।