
काठमाडौंको तीनकुनेमा आज (बिहीबार) बिहान भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन् ।
कोटेश्वरबाट बानेश्वरतर्फ आउँदै गरेको बा.३ख ७०६२ नम्बरको बसले सोही दिशाबाट आइरहेको बा.प्र ०१-०२६ च २९२७ को इको मारुती भ्यान र बा.प्र.०२-०५३ प ३८४७ नम्बरको मोटरसाइकललाई बिहीबार बिहान करिब साढे ६ बजे काठमाडौं महानगरपालिका ३२ तीनकुनेस्थित मुनिभैरवमा ठक्कर दिएको थियो ।
प्रहरी वृत्त बानेश्वरका अनुसार मोटरसाइकलमा चढेकी नुवाकोट घर भई अहिले ललितपुरको धोबीघाट बस्ने २३ वर्षीया नगिना तामाङको मृत्यु भएको हो ।
दुर्घटनामा सख्त घाइते भएकी तामाङको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक रामेछाप दोरम्बा गाउँपालिका ३ घर भई काठमाडौंको नयाँबजार बस्ने २७ वर्षीय पदम थापामगर घाइते भएका छन् । उनको पनि ट्रमा सेन्टरमै उपचार भइरहेको छ ।
यसैगरी बसको ठक्करबाट भ्यानका चालक काभ्रे मण्डनदेवपुर नगरपालिका १ घर भई अहिले काठमाडौं ३१, शान्तिनगर बस्ने ३५ वर्षीय रत्नबहादुर सार्की र बसमा यात्रारत दोलखाको गौरीशंकर गाउँपालिकाकी २४ वर्षीया मेनुका बुढाथोकी घाइते भएका हुन् ।
दुर्घटनामा घाइते भएका थापामगर, सार्की र बुढाथोकोको स्वास्थ्य अवस्था भने खतरामुक्त छ ।
दुर्घटनापछि प्रहरीले बस चालक इलामको सूर्योदय नगरपालिका ५ घर भई काठमाडौंको काँडाघारी बस्ने ५९ वर्षीय रामकुमार खड्का र भ्यान चालक रत्नबहादुर सार्कीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको जनाएको छ ।