काठमाडौं, वैशाख २५ :

प्रधानमन्त्री केपी ओलीले निरोगी नेपालको महाअभियानअन्तर्गत कुष्ठरोग निवारण गरिछाड्ने प्रयत्नलाई अझ गतिशील र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विभिन्न संस्थाद्वारा आज (बिहीबार) आयोजित ‘नेपाल कुष्ठरोग सम्मेलन’ उद्घाटनसत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा प्रति १० हजारमा एकभन्दा तलको सङ्ख्यामा कुष्ठरोगी रहनु सुधारात्मक भए पनि रोग पूर्ण उन्मूलन नभएसम्म आफूहरु सन्तुष्ट नहुने बताए ।

उनले पहिला पहिला आशीर्वाद दिइँदा पाचनप्रणाली राम्रो होस् भनेर दिइने स्मरण गर्दै आहारविहार र हेरचाहलाई सही रुपमा गरेर स्वस्थ्य रहन सकिने र कुष्ठारोगजस्ता सङ्क्रामक रोग लागिहालेमा नियमित उपचार गर्ने कार्यलाई जागरणकै रुपमै सञ्चालन गर्न आग्रह गरे । प्रधानमन्त्री ओलीले आफूले पञ्चायतकालमा गोलघरमा रहँदा चिसो भुइँमा राखेर यातना दिइएको सम्झँदै त्यही कारण आफ्नो मिर्गौला फेल भएको सन्दर्भ उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले कुष्ठरोगीलाई हेलाँहोचो नगर्न कानुनमा संशोधन गर्ने र रोग सर्नबाट पनि बच्ने उपायका लागि सरकारले आवश्यक सहजीकरण गर्ने बताए । उनले रोग लुकाउनु हुँदैन भन्ने सन्देशसहित आमसञ्चार र सूचना प्रविधिका माध्यमबाट कुष्ठारोग निवारणका लागि जागरण फैलाउन स्वास्थ्य मन्त्रालयलाई आग्रह पनि गरे ।