
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई जिल्ला अदालत काठमाडौंले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
अदालतले उनलाई आपराधिक उपद्रवको कसुरमा अनुसन्धान गर्नका लागि हिरासत अवधि थप्ने आदेश दिएको हो। मिश्रलाई म्याद थपका लागि आज (बिहीबार) अदालत लगिएको थियो।
चैत १५ गते तीनकुनेमा भएको घटनापछि पक्राउ परेका मिश्रमाथि राज्यविरुद्धको कसुर र संगठित अपराधको अभियोगमा मुद्दा दायर गरिएको थियो। आज पुनः उनीमाथि आपराधिक उपद्रवको कसुरमा पनि मुद्दा चलाइएको छ ।
मिश्रले भने आफूमाथि मुद्दा चलाउने तरिकाप्रति असन्तुष्टि जनाएका छन्। उनले आफू निर्दोष रहेको दाबी गर्दै बारम्बार नयाँ कसुर थप्दै अनावश्यक रूपमा हिरासतमा राखिएको आरोप लगाएका छन्।
त्यसैगरी सोही घटनासँग सम्बन्धित अन्य अभियुक्तहरूलाई भने अदालतले थप ७ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।