
काठमाडौंदेखि रारासम्म पर्यटक बस सञ्चालनको सम्भाव्यता अध्ययनका लागि टुरिस्ट बस एसोसिएसन अफ नेपाल (टिबान) को पहलमा विशेष भ्रमण टोली काठमाडौंबाट प्रस्थान गरेको छ ।
पर्यटन क्षेत्रमा काम गरिरहेका पर्यटन व्यवसायीहरु पर्यटक बसमा रारा पुग्ने र बाटोको अवस्थालगायत समग्र यात्राको स्थिति बुझ्न बिहीबार नेपाल पर्यटन बोर्डको प्रांगणबाट प्रस्थान गरेका हुन् ।
उनीहरुलाई नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले बिदाइ गरेका छन् । बिदाइका क्रममा बोर्डका वरिष्ठ निर्देशक ऐरले अध्ययन भ्रमणको शुभकामना व्यक्त गरे । उनले भने, ‘यो यात्रा सफलताको शुभकामना छ । काठमाडौंलाई रारासँग जोड्ने अभियान सुरु भएकामा निकै खुसी लागेको छ । पर्यटकहरुलाई काठमाडौंबाट कर्णालीको रारासम्म सडक यातायातमार्फत पुग्न सकिन्छ भन्ने सन्देश दिन गरिएको यो प्रयास सफल हुनेछ भन्नेमा विश्वास लिएको छु । यस भ्रमणले अब रारा टाढा छैन भन्ने सन्देश फैलाउनेछ । आन्तरिक र क्षेत्रीय पर्यटन प्रवर्द्धनमा पनि यसले योगदान दिनेछ । कर्णालीलाई सुगम गन्तव्यका रूपमा चिनाउने यो अभियान महत्त्वपूर्ण हुनेछ ।’
टुरिस्ट बस एसोसिएसन अफ नेपालका अध्यक्ष भीष्म न्यौपानेले यात्राको सफल सुरुआत नेपाल पर्यटन बोर्डले देखाएको सद्भावको परिणाम भएको बताएका छन् । उनले भने, ‘सडक र भौतिक पूर्वाधारको अवस्था सरल र सहज देखिएको छ । हामी यस यात्रामा यात्राका क्रममा आइपर्ने कठिनाइ र सम्भावनाहरुको सूक्ष्म अध्ययनपछि थप योजनाबद्ध रुपमा अघि बढ्नेछौं ।’
टिबानका पूर्वअध्यक्ष कृष्ण आचार्यले सडकमार्फत रारा यात्रा पूर्ण सम्भव रहेको बताए । उनले भने, ‘काठमाडौंदेखि रारा जाने यो नै सही सिजन हो । यही सिजनमा हामीले काठमाडौंबाट बस यात्रा गराएर रारा पुर्याउन सक्यौं र यसका लागि थप प्याकेजहरु बनाउन सक्यौं भने रारामा पर्यटकहरुको संख्यामा वृद्धि हुनेछ । काठमाडौंदेखि रारासम्म पहिलो पर्यटक बस यात्रा भएकाले यो ऐतिहासिक हुनेछ, जुन नेपालको पर्यटन प्रवर्द्धनका लागि महत्त्वपूर्ण कोसेढुंगा बन्नेछ ।’
भ्रमण टोलीमा पर्यटन क्षेत्रका व्यवसायी, सरोकारवाला निकायका प्रतिनिधिहरु सहभागी छन् । अध्ययनपछि नियमित पर्यटक बस सेवा सञ्चालन गर्ने तयारी छ ।