
देशैभर जारी रहेको कक्षा १२ को वार्षिक परीक्षामा मर्यादाविपरीतका क्रियाकलाप गर्ने काठमाडौंको सुकेधारामा रहेको साइपल एकेडेमी मावि परीक्षा केन्द्रका केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्षलाई राष्ट्रिय परीक्षा बोर्डले निष्काशन गरेको छ ।
बोर्डले परीक्षा हलभित्र मोबाइल फोन, स्मार्ट घडीलगायत इलेक्ट्रोनिक्स डिभाइस लैजान पूर्ण निषेध गरेको छ ।
तर, केही परीक्षा केन्द्रहरुमा मोबाइल प्रयोग भएको पाइएको भन्दै बोर्डले त्यस्ता मोबाइल जफत गरिएको र सम्बन्धित परीक्षार्थीको परीक्षासमेत रद्द गरिएको जनाएको छ ।
‘परीक्षा हलभित्र मोबाइल फोन, स्मार्ट घडीलगायतका इलेक्ट्रोनिक्स डिभाइसहरु लैजान पूर्णरुपमा निषेध गरिएको छ,’ बोर्डद्वारा जारी सूचनामा उल्लेख छ, ‘सूचनाको अवज्ञा गरेको पाइएमा सम्पूर्ण विषयको परीक्षा रद्द हुने व्यहोरासमेत सम्पूर्ण अभिभावक, शिक्षक, विद्यार्थी र सरोकारवालाहरुमा पुनः अनुरोध छ ।’
बोर्डले यही वैशाख २१ गतेबाट देशभरि कक्षा १२ परीक्षा सञ्चालन गरिरहेको छ । आगामी जेठ २ गतेसम्म सञ्चालन हुने परीक्षामा पाँच लाखभन्दा धेरै विद्यार्थी सहभागी छन् ।