
ललितपुर महानगरपालिका १४ स्थित चक्रपथवरपर बैजनी रङको जाकारान्डा फूल ढपक्क फुलेको छ । वसन्त ऋतुमा फूल्ने यस फूलले यहाँको शोभा बढाएको छ । अचेल दिनहुँजसो फूल र चक्रपथलाई पृष्ठभूमिमा राखेर तस्बिर र भिडियो खिच्ने युवायुवतीको उपस्थिति झनै हेर्न लायक हुन्छ ।
चक्रपथ वरपर ढपक्क फूल फूलेपछि तस्बिर खिच्नलाई भिड हुने गरेको ललितपुर महानगरपालिका १४ का वडाध्यक्ष अमृत महत बताउँछन् । उनी भन्छन्, ‘हरेक वर्ष यसयाममा फूलको मौसम आउँछ । यसमा युवायुवतीहरू रमाइरहेको देख्दा खुसी लाग्छ ।’
एकै रङमा फूल्ने जाकारान्डाको इतिहास राणाकालीन समय देखिएको छ । चक्रपथमा रहेका केही रुख बुढा भइसकेका छन् भने केही भर्खर फुल्न सुरु गरेका छन् । चक्रपथलाई शोभनीय बनाउने यस फूललाई ललितपुर महानगरपालिकाले संरक्षण गर्दै आएको छ । यससँगै अन्य प्रजातिका फूलहरूलाई हुर्काउन महानगरपालिकाले पानी हाल्ने र गोडमेल गर्ने गरेको छ ।
आउने दिनमा चक्रपथको सौन्दर्य बढाउन जाकारान्डा फूल संरक्षणसँगै अन्य प्रजातिका फूल रोप्ने तयारी रहेको अध्यक्ष महतले बताए । उनले भने, ‘जाकारान्डा फूललाई पृष्ठभूमिमा पारेर तस्बिर र भिडियो खिच्नेको सङ्ख्या बढ्दो छ । दिउँसोको चर्को गर्मीमा पनि यात्रीहरू रुखको छहारीमा बसेर रमाइरहेका हुन्छन् । हामी यसलाई अझै व्यवस्थित गर्छौं ।’
बिहान र बेलुकीको समयमा युवायुवतीहरूको बढी चहलपहल हुन्छ । चापागाउँदोबाटो, महालक्ष्मीस्थान, थसीखेल चोकवरपर बढी भिड हुने गरेको छ ।
वसन्त ऋतुमा एकै रङमा ढपक्क फूलेको जाकारान्डा देखेपछि मन प्रफुल्ल हुने गरेको फूलको दृष्य अवलोकन गर्न आएका निर्मल लामा बताउँछन् । ललितपुरको महालक्ष्मीस्थान चोकवरपर मात्र नभएर काठमाडौं उपत्यकाको रिङरोडभरि यस्तै फूल भए काठमाडौं झन् सुन्दर देखिने उनको भनाइ छ । -रासस