काठमाडौं, वैशाख २६ :

नेपाल प्रेस युनियनको आयोजनामा ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ हुने भएको छ ।

काठमाडौंमा शु्क्रबार पत्रकार सम्मेलन गरेर वैशाख २७ देखि ३० गतेसम्म अन्तर्राष्ट्रिय मिडिया समिट हुने युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले जानकारी दिए ।

उनका अनुसार लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटको औपचारिक उद्घाटन ललितपुरको होटेल हिमालयमा भोलि (शनिबार) हुनेछ भने समापन मुस्ताङमा पुगेर हुनेछ ।

उपराष्ट्रपति रामसहायप्रसाद यादवले कार्यक्रमको उद्घाटन हुने समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, परराष्ट्रमन्त्री आरजु राणा देउवालगायत विभिन्न देशका पत्रकारहरुबाट सम्बोधन हुने युनियनका अध्यक्ष लम्सालले जानकारी दिए ।

‘नेपालको इतिहासमा पहिलोपटक नेपाल प्रेस युनियनले लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट आयोजना गर्न गइरहेको जानकारी गराउन पाउँदा खुसी लागेको छ । नागरिक समृद्धि र समृद्ध नेपालका लागि समाजका हरेक पक्षलाई उजागर गर्दै बहुआयामिक परिवर्तन र समाजको रुपन्तरणमा केही योगदान पर्‍याउन सकिन्छ भन्ने हेतुले नेपाल प्रेस युनियन यो समिट आयोजना गर्न लागेको हो,’ उनले भने, ‘समिट काठमाडौंदेखि पोखरा हुँदै मुस्ताङसम्म वैशाख २७ गतेदेखि ३० गते सम्म चल्नेछ ।’

अध्यक्ष लम्सालका अनुसार विश्वका बदलिँदो परिवेशमा प्रविधिले निम्त्याएको अवसर र चुनौती तथा दक्षिण एसियामा मिडियाले भोग्नु परेका समस्या, दक्षिण एसियाको पत्रकारिताको प्रभावबारेमा दक्षिण एसियासहित विभिन्न ६ मुलुकबाट आएका विषय विज्ञहरुको कार्यक्रममा प्रस्तुति रहनेछ ।

विदेशी पत्रकारसहित करिब १५० पत्रकार सहभागी हुने मिडिया समिटको यात्रा काठमाडौंदेखि पोखरा हुँदै मुस्ताङको लोमाङथाङसम्म हुने नेपाल प्रेस युनियनका महासचिव दिलीप पौडेलले जानकारी दिए । समिटको अन्तिम दिन लोमाङथाङ घोषणापत्र जारी गर्ने पनि महासचिव पौडेलले बताए ।