
सरकारले पाकिस्तानमा रहेका नेपालीहरूलाई कुनै सहयोग आवश्यक परेमा इस्लामाबादस्थित नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ ।
भारत र पाकिस्तानबीच तनाव बढिरहेका बेला परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै कुनै पनि समस्या परेमा दूतावासमा सम्पर्क गर्न पाकिस्तानमा रहेका नेपाली विद्यार्थी तथा उनीहरूका अभिभावकलाई आग्रह गरेको हो । सरकारले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी तथा अन्य नेपालीको सुरक्षा तथा हित सुनिश्चित गर्न नेपाल सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्रले तृतीय सचिव वृन्दा सुवेदी खड्कालाई +९२ ३३१३२९३११९ र आर्सलान मेहमुदलाई +९२३४०५१७४२६१ नम्बरमा सम्पर्क गर्न वा इमेलमार्फत [email protected] मा सम्पर्क गर्न भनेको छ ।
पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी एवं अन्य नेपालीहरुको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ नेपाल सरकार पूर्णरुपमा सचेत रहेको र पाकिस्तानस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी एवं नेपालीहरुसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको परराष्ट्रले जनाएको छ ।