काठमाडौं, वैशाख २६ :

काठमाडौंमा राजसंस्था पक्षधरहरूले मोटरसाइकल र्‍याली निकालेका छन् ।

र्‍यालीमा राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राप्रपा नेता डा. प्रकाशचन्द्र लोहनी, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत नेता सहभागी थिए ।

थापाले आफैं मोटरसाइकल चलाएका थिए ।

सुकेधाराबाट सुरु भएको मोटरसाइकल र्‍याली महाराजगन्ज, बालाजु, स्वयम्भू, कलंकी हुँदै बल्खु चोकमा पुगेर समापन भएको थियो ।

राजसंस्था पुनर्स्थापनाका लागि बिहीबार गठन भएको ‘संयुक्त जनआन्दोलन समिति’ ‘जनआन्दोलन’ को घोषणा गरेको थियो । सुवेदीको नेतृत्वमा हुने अनिश्चितकालीन ‘जनआन्दोलन’ मा राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय शक्ति नेपाल, नेपाली कांग्रेस (बीपी), शिव सेनालगायतले ऐक्यबद्धता जनाएका छन् ।

सुवेदीले ‘जनआन्दोलन’ घोषणा गर्दा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति नेपालका प्रमुख केशरबहादुर विष्टलगायतको उपस्थिति थियो ।