
भारतको अनलाइन मिडिया ‘द वायर’माथि प्रतिबन्ध लगाइएको छ ।
भारत सरकारले ‘द वायर’लाई बन्द गरेको हो । ‘द वायर’ले शुक्रबार विज्ञप्ति जारी गर्दै सरकारले संविधान उल्लंघन गर्दै भारतभर प्रतिबन्ध लगाएको जनाएको छ ।
सरकारको कदमप्रति ‘द वायर’ ले विरोध जनाएको छ । सरकारको संविधानविरोधि कार्यविरुद्ध आवश्यक कदम उठाउने ‘द वायर’को भनाइ छ ।
पाकिस्तानसँगको तनाव बढिरहेका बेला भारतमा सरकारप्रति आलोचनात्मक दृष्टिकोण राख्ने सञ्चारमाध्यम बन्द गरिएको छ । यसअघि ‘४ पीएम’ नामक युट्यब च्यानल पनि सरकारले बन्द गराएको थियो ।
यो अनलाइनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारका गतिविधिहरूमाथि आलोचनात्मक सामग्रीहरू पस्किँदै आएको थियो । द वायरका संस्थापक सम्पादक सिद्धार्थ वर्द्धराजनका अनुसार, कम्तिमा दुईवटा इन्टरनेट सेवा प्रदायकले सेवाग्राहीलाई सरकारको आदेशअनुसार ‘द वायर’ नखुलेको सूचना दिएको छ ।
‘यो प्रतिबन्ध पूर्ण लागु नहुन्जेल केही पाठकहरूले अझै पनि वायर पढ्न पाउनु हुन्छ होला, तर भीपीएनमार्फत वायर पढ्न सकिन्छ,’ उनले भनेका छन्, ‘त्यसैले मोदीको महान पर्खालको बाहिर पनि जीवन छ र विदेशमा रहेका पाठकहरूले पनि हामीलाई पढ्न सक्छन्, तर हामी छिटै एउटा मिरर साइट सुरु गर्नेछौं ।’
द वायरले सामाजिक सञ्जाल एक्समा सूचना जारी गर्दै सरकारको यो कदमलाई संविधानले दिएको प्रेस स्वतन्त्रताको उल्लंघन भनेको छ ।
‘हामी अत्यन्त संवेदनशील समयमा भएको यो प्रतिबन्धको विरोध गर्छौं, जतिबेला विवेकपूर्ण, सत्यनिष्ठ, निष्पक्ष र तर्कसंगत आवाज तथा समाचार स्रोतहरू आवश्यक छ,’ सूचनामा भनिएको छ, ‘यो कमदविरुद्ध हामीले आवश्यक कदमहरू पनि चालिरहेका छौं ।’
सूचनामा ‘सत्य र यथार्थ समाचार सम्प्रेषण गर्न पछि नहट्ने’ समेत भनिएको छ । भारतीय अखबार द हिन्दुका पूर्वसम्पादक सिद्धार्थसहितको समूहले सन् २०१५ मा वायरको स्थापना गरेको थियो ।