काठमाडाैं, वैशाख २७ :

भारत र पाकिस्तानबीच सीमा क्षेत्रमा सैन्य तनाव चुलिंदै गएको सन्दर्भमा जी–७ राष्ट्रहरूले दुवै देशलाई संयमता अपनाउन र प्रत्यक्ष वार्तामा बस्न अपिल गरेका छन्।

जी–७ समूहमा समावेश क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, अमेरिका, बेलायत र युरोपेली संघका विदेश मन्त्रीहरूले क्यानडाबाट संयुक्त विज्ञप्ति जारी गर्दै भारत–पाकिस्तानबीच शान्तिपूर्ण संवाद आवश्यक रहेको बताएका हुन्।

विज्ञप्तिमा २२ अप्रिलमा भारतको जम्मु–कश्मीरको पहलगाममा पर्यटकहरूलाई लक्षित गरी भएको आक्रमणको कडा शब्दमा निन्दा गरिएको छ। उक्त घटनालाई लिएर क्षेत्रीय सुरक्षामा थप चुनौती आएको भन्दै जी–७ राष्ट्रहरूले चिन्ता व्यक्त गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘हामी चाहन्छौं कि भारत र पाकिस्तानले हालको तनावलाई बढाउने कार्य नगरी आपसी संवादमार्फत समाधान खोजून्। शान्ति र स्थायित्वका लागि संयमता अपरिहार्य छ।’

भारत र पाकिस्तानले एकअर्कामाथि कारबाहीको दाबी गरिरहेका बेला आएको जी–७ राष्ट्रहरूको यो अपिलले अन्तर्राष्ट्रिय समुदायको ध्यान यस क्षेत्रतर्फ केन्द्रित गराएको छ। विश्लेषकहरूका अनुसार यस्ता कूटनीतिक दबाबहरूले वार्ता सम्भावनालाई अघि बढाउन भूमिका खेल्न सक्छ।