
चितवनको रत्ननगरमा गुडिरहेको यात्रुबाहक बसमा शुक्रबार राति अचानक आगलागी भएको छ। यद्यपि, घटनामा मानवीय क्षति भने भएको छैन।
रत्ननगर नगरपालिका–१६ स्थित कयरखोलानजिकको भित्री सडक खण्डमा राति करीब १०:४५ बजे पर्साबाट पिठुवातर्फ आउँदै गरेको बा प्र ०६–००१ ख ०१८८ नम्बरको बसमा एक्कासि आगलागी भएको चितवन प्रहरीले जनाएको छ।
बसमा यात्रु नभएको र चालकसहित सबै कर्मचारी सकुशल रहेको चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले जानकारी दिए। उनका अनुसार आगो लागेको थाहा पाउनेबित्तिकै चालक र अन्य कर्मचारीहरूले बसबाट उत्रिनुका साथै तत्काल प्रहरी र स्थानीयवासीलाई खबर गरेका थिए।
घटनास्थलमा खैरहनी नगरपालिकाको दमकल परिचालन गरी आगो पूर्णरूपमा नियन्त्रणमा लिइएको छ। आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। पछिल्लो समय कहिले स्कुल बस त कहिले गुडिरहेको यात्रुबसमा अचानक आगलागीका घटनाहरु भइरहेका छन् ।