काठमाडाैं, वैशाख २७ :

संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगका पदाधिकारी चयन प्रक्रिया खारेज गर्न माग गर्दै द्वन्द्वपीडितहरूले शनिबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्।

सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लागि पदाधिकारी सिफारिस गर्न गठन गरेको समितिले केही दिनअघि संक्षिप्त नामावली सार्वजनिक गरेको थियो। तर, द्वन्द्वपीडितहरूले उक्त सूचीलाई अस्वीकार गरेका छन्।

उनीहरूले सिफारिस प्रक्रिया अपारदर्शी, भागबन्डा आधारित र पीडित समुदायको सहभागिता विना गरिएको आरोप लगाएका छन्। प्रदर्शनमा सहभागी पीडितहरूले आफूहरूको माग बेवास्ता भएमा समानान्तर नागरिक आयोग गठन गर्ने चेतावनी दिएका छन्।

पीडितहरूका अनुसार आयोगमा सिफारिस गरिने व्यक्तिहरूको छनोटमा पीडित समुदायसँग कुनै परामर्श गरिएको छैन। 

यसअघि द्वन्द्वपीडितहरूले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता शेरबहादुर देउवासँग भेट गरी आयोगमा पीडित प्रतिनिधित्वको माग गरेका थिए। तर, त्यसअनुसारको पहल नभएको उनीहरूको गुनासो छ। द्वन्द्वपीडितहरूले न्याय सुनिश्चित नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।