काठमाडाैं, वैशाख २७ :

साउदी अरबले भारत र पाकिस्तानबीचको तनाव कम गर्न कूटनीतिक पहल गर्दै आएको छ। साउदी विदेश मन्त्रालयले दुवै देशलाई संयम अपनाउन, द्वन्द्व न्यूनीकरण गर्न र कूटनीतिक माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरेको छ।

दुई देशबीच जारी सैन्य तनावको पृष्ठभूमिमा साउदी अरबका विदेश मन्त्री प्रिन्स फैसल बिन फरहानले दुबै देशका विदेश मन्त्रीहरूसँग टेलिफोन संवाद गरेका छन् ।

साउदी अरबको विदेश मन्त्रालयका अनुसार, विदेश मन्त्री प्रिन्स फैसलले भारतीय विदेश मन्त्री एस. जयशंकर र पाकिस्तानी विदेश मन्त्री इसहाक डारसँग अलग–अलग फोनवार्ता गर्दै क्षेत्रीय स्थायित्व र तनाव न्यूनीकरणका लागि सहकार्यका उपायहरूबारे छलफल गरे।

पाकिस्तानको विदेश मन्त्रालयले पनि विदेश मन्त्री डार र साउदी विदेश मन्त्रीबीचको कुराकानीको पुष्टि गर्दै एक विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा उल्लेख गरिएअनुसार, ‘विदेश मन्त्री डारले भारतका पछिल्ला हमलाहरू र त्यसको जवाफमा पाकिस्तानले दिएको प्रतिक्रिया सम्बन्धी वर्तमान सुरक्षापरिस्थितिबारे जानकारी गराए।’

साथै, साउदी विदेश मन्त्रीले निर्दोष नागरिकको ज्यान गएको घटनामा समवेदना व्यक्त गर्दै पाकिस्तानको संयमित र सन्तुलित प्रतिक्रियाको प्रशंसा गरेको पनि पाकिस्तानी पक्षको भनाइ छ। दुवै नेताबीच नियमित सम्पर्कमा रहने सहमति भएको जनाइएको छ।

यता, भारतको विदेश मन्त्रालय वा विदेश मन्त्री एस. जयशंकरले भने साउदी विदेश मन्त्रीसँगको संवादबारे अहिलेसम्म कुनै औपचारिक जानकारी सार्वजनिक गरेका छैनन्।

भारत र पाकिस्तानबीचको सीमावर्ती क्षेत्रमा सैन्य झडप बढ्दै गएको छ ।द्वन्द्वमा हालसम्म ४८ जनाको मृत्यु भइसकेको छ ।जसका कारण क्षेत्रीय सुरक्षामा चासो बढेको छ। यस्तो अवस्थामा साउदी अरबले कूटनीतिक पहलमार्फत तनाव कम गर्न गरेको प्रयासलाई महत्वपूर्ण मानिएको छ। त्यसो त साउदी अरबसँगै कतार, इरान, अमेरिका र चीनले पनि मध्यस्थता र संयमको आह्वान गरेका छन्।