कैलाली, वैशाख २७ :

भारत–पाकिस्तानबीचको पछिल्लो तनावका कारण नेपाल–भारत सीमामा सुरक्षा सतर्कता बढाइएको छ। विशेष गरी कैलालीको गौरीफन्टा नाकामा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले निगरानी कडाइ गरेको छ।

भारत जान चाहने नेपाली नागरिकले अनिवार्य रूपमा नागरिकता प्रमाणपत्र र भारतीय आधार कार्ड देखाउनुपर्ने सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमसिंह धामीले जानकारी दिए।

सामान्य अवस्थाभन्दा अहिले चेकजाँच, गस्ती र पेट्रोलिङ व्यापक रूपमा बढाइएको धामीले बताए। युद्धको संवेदनशीलतालाई ध्यानमा राख्दै जोखिम न्यूनीकरणका लागि कडाइ गरिएको हो।

नेपाल प्रहरीले समेत सीमामा निगरानी तीव्र बनाएको छ। चोरी, तस्करीजस्ता गतिविधि नियन्त्रणमा विशेष ध्यान दिइएको प्रहरी प्रवक्ता राजकुमार सिंहले बताए।प्रशासनले सीमा क्षेत्रका बासिन्दालाई सतर्क रहन र शंकास्पद गतिविधि देखिएमा तुरुन्त सुरक्षाकर्मीलाई खबर गर्न अनुरोध गरेको छ।