
काठमाडौं महानगरपालिकाले बहिरा अपाङ्ता भएका १० जनालाई बारिस्ता, बेकरी बनाउने र हस्पिटालिटीसम्बन्धी ९० दिनको तालिम प्रदान गरेको छ ।
सामाजिक विकास विभागले आयोजना गरेको तालिम २०८१ माघ १३ गते थालिएको थियो । २०८२ वैशाख २५ गतेसम्म सञ्चालन भएको तालिमअन्तर्गत लाजिम्पाटको कोथिना मीठो छ तालिम केन्द्रमा बारिस्ता र बेकरी प्रशिक्षण दिइएको थियो । यस्तै ठमेलको होटेल आर्टमा पनि प्रशिक्षण गराइएको थियो ।
प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्दै सामाजिक विकास समितिका सदस्य महेश नेपालीले, रोजगारमूलक तालिम दिएर स्वरोजगार बन्न प्रोत्साहित गर्न चाहेको बताए । ‘क्षमता विकास गरेर आत्मविश्वास बढाउन हामीले सहयोग गरेका हौँ । यसपछि तपाईंहरुलाई स्वरोजगार बन्न चाहिने सहयोग उपलब्ध गराउन सक्छौँ । रोजगारभन्दा स्वरोजगार बन्नोस भन्ने हाम्रो चाहना हो ।’
उनले सामाजिक विकास समितिले सबैलाई सम्मानजनक रुपमा बाँच्न पाउने वातावरण तयार पार्नमा कार्यक्रम सञ्चालन गरेको धारणा राखे । त्यस क्रममा समितिका सदस्य एवं कार्यपालिका सदस्य ललिता खड्गीले, अपाङ्गता भएका व्यक्तिहरुको आयआर्जनमा टेवा दिन गरी काम गरिएको धारणा राखिन् ।
सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौलाले तालिमबाट सिकेको ज्ञान र सीपबाट जीवनस्तरमा सुधार आउने बाटोमा लागेको हेर्न चाहेको बताइन् । ‘महानगरपालिकाले प्रदान गरेको तालिम, तालिम मात्र होइन । रोजगारीमा जाने वा स्वरोजगार बन्ने ठाउँ पनि हो । हामीले यसलाई लगानी मानेका छौँ,’ उनको भनाइ छ ।
त्यस क्रममा काठमाडौँ बहिरा संघका अध्यक्ष सत्यदेवी वाग्ले र बहिराहरुका लागि सहयोगी हातहरुका अध्यक्ष बद्रीलक्ष्मी श्रेष्ठले आधारभूत तालिमको अवधिलाई बढाएर ९० दिन अभ्यास गराएकाले यसबाट धेरै लाभ पुगेको धारणा राखे ।
‘तालिम प्रारम्भका दिनहरुमा कसरी सिकाउने होला भन्ने लागेको थियो । सांकेतिक भाषानुवादकका कारण तालिम चल्न थालेपछि हामीले सिकाउन खोजेका कुरा राम्रोसँग बुझाउन सकेको अनुभूति भयो,’ बेकरी तालिमका प्रशिक्षक मितालक्ष्मी अधिकारी, बारिस्ता तालिमका प्रशिक्षक अनीता घले कपाली, हस्पिटालिटीका प्रशिक्षक नरोत्तम गौत्तम र नीतु चौधरीले अनुभव सुनाए । उनीहरुले, ‘ठुला होटेल, रेस्टुरेन्टलगायत रोजगारका क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरुका लागि स्थान छुट्याएर अवसर दिनुपर्ने धारणा राखेका थिए ।
तालिमका प्रशिक्षार्थीहरुले, आफूहरु रोजगार हुन चाहेको धारणा राखे । ‘हामी सक्षम छौं । जिम्मेवारीमा आएका काम कुशलतापूर्वक गर्न सक्छौं भन्ने देखाउनुपर्नेछ । यसका लागि पनि हामी रोजगार क्षेत्रमा जान चाहेका हौं,’ उनीहरुको भनाइ थियो ।
तालिममा के सिकाइयो
बारिस्ता तालिममा कफी बनाउने मेसिनको चिनारी, प्रयोग गर्न विधि, कफी बनाउने तरिका (सिंगल सर्ट, डबल सर्ट, अमेरिकानो, क्यापाचिनो, रिस्ट्रेटो, एस्प्रेसो कन, लङ ब्ल्याक, क्याफे लिटे, क्याफे मोक्का चकलेट, फ्लेभर लतेमा मोक्का, क्यारामेल, भेनिला, हनी) लगायत प्रकारहरु बनाउन सिकाइएको थियो ।
यस्तै मोजितो, भर्जिन मोजितो, बनाना लस्सी, एप्पल लस्सी, सिजनल फलफूलको लस्सी, विभिन्न स्वादका मिल्क सेक, हर्बल चियालगायत पेय उत्पादन गर्न सिकाइएको थियो ।
बेकरी तालिममा बेकरी बनाउँदा आवश्यक पर्ने सामानको चिनारी, पाउरोटी (सेतो, ब्राउन), बन, मफिन र कुकिजहरु, कपकेक, डोनट, सिनामोन रोल, क्यारोट केक, मल्टी ग्रेन ब्रेड, फ्रुट केक, एगलेस प्रिमिक्स स्पोन्ज, पफलगायत प्रकार बनाउन सिकाइयो ।
हस्पिटालिटीतर्फ सर्भिसको फुड र बेभरेज, हाउस किपिङ, फ्रन्ट डेक्ससहितका डिपार्टमेन्टमा अभ्यास गराइएको थियो । हाउस किपिङलाई रुम (बेड सिट फेर्ने, सिरानीको खोल फेर्ने, कोठाको स्वच्छता र सरसफाइ) र पब्लिक प्लेस (लबी, विभिन्न तलामा रहेका स्थानहरु) गरेर दुवै क्षेत्रमा अभ्यास गराइएको थियो ।