
अहिले देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणत: बदली रही बाँकी भू-भागमा मौसम सफादेखि आंशिक बदली रहनेछ ।
सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
देशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। मधेस प्रदेशका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आइतबार राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
कोसी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको पनि महाशाखाले नियमित बुलेटिनमार्फत जनाएको छ ।