
नेपाल सरकारद्वारा यसै साता आयोजना गरिएको सगरमाथा संवादको पहिलो संस्करणका लागि सहयोग स्वरुप भारत सरकारले १५ वटा विद्युतीय सवारीसाधन (गाडी) उपलब्ध गराएको छ ।
नेपाल-भारत सहयोग कार्यक्रमअन्तर्गत उपलब्ध गराइएका ती सवारीसाधन आज (आइतबार) परराष्ट्र मन्त्रालयमा आयोजित एक समारोहमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हस्तान्तरण गरे ।
त्यस अवसरमा राणाले नेपालले आयोजना गरेको सगरमाथा संवादका लागि उपलब्ध गराएको सहयोगका लागि भारत सरकारलाई धन्यवाद दिइन् । उनले जलवायु परिवर्तन नेपालको मात्र नभएर यस क्षेत्रकै एक साझा चुनौतीका रुपमा रहेकाले यसको समाधानका लागि पनि सबैको आपसी समन्वय र सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिइन् ।
नेपालले आयोजना गरेको सगरमाथा संवाद कार्यक्रमले जलवायु परिवर्तनसम्बन्धी यस क्षेत्रको साझा समस्याको उजागर गर्दै त्यसको समाधानका उपायहरुको खोजीका लागि समेत सामूहिक प्रयत्नको मोडल तय गर्ने जानकारी दिँदै यसमा भारत सरकारको सहयोग उल्लेखनीय रहेको बताइन् । परराष्ट्रमन्त्री राणाले यही मे १६‐१८ मा आयोजित सगरमाथा संवादको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको र अब नेपाल सरकार विदेशी उच्चपदस्थ व्यक्तित्वहरु तथा पाहुनाहरुको स्वागतको प्रतीक्षामा रहेको जानकारी दिइन् ।
त्यस अवसरमा राजदूत श्रीवास्तवले भारत सरकारले नेपालको आर्थिक, सामाजिकलगायत क्षेत्रमा पुर्याउँदै आएको सहयोगको चर्चा गर्दै सगरमाथा संवादका लागि सवारीसाधन उपलब्ध गराउन पाएकामा खुसी जनाए । उनले जलवायु परिवर्तनको चुनौती यस क्षेत्रकै साझा समस्या रहेकाले यसको समाधानमा अवलम्बन गरिने उपायहरुमा भारत सरकार नेपालको साथ रहेको पनि बताए ।