
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाहीले वैदेशिक रोजगारीका क्रममा विदेशमा अलपत्र परेका नेपालीहरूको तत्काल उद्धार गर्न सरकारलाई आग्रह गरेका छन्।
प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य समयमा राष्ट्रिय राप्रपाका सांसद शाहीले साउदी अरेबियाको जुबेलमा ४६९ नेपाली कामदार बन्धक अवस्थामा रहेको जानकारी दिँदै उनीहरूको छिटो उद्धारको माग गरे ।
सांसद शाहीले परराष्ट्र मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ध्यानाकर्षण गराउँदै वैदेशिक रोजगारीमा गएका नेपालीहरू निरन्तर ठगीमा परिरहेको र यस्ता घटनालाई तत्काल सम्बोधन गर्न आवश्यक रहेको बताए।
‘नेपाली नागरिकहरू विदेशी भूमिमा कठिन परिस्थितिमा छन्,’उनले भने, ‘ सरकारले समयमै चासो नदिए मानवीय संकट थपिनेछ।’
उनले वैदेशिक रोजगारमा रहेका नेपालीलाई सुरक्षा र न्याय सुनिश्चित गर्न सरकार सक्रिय हुनुपर्नेमा जोड दिए। यसअघि पनि यस्तै घटनामा ढिलो प्रतिक्रिया आएको भन्दै सांसदहरूले समयमै कदम चाल्नुपर्नेमा जोड दिएका छन्।