काठमाडौं, वैशाख २८ :

राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले आगामी जेठ १५ गते काठमाडौंमा हुने प्रदर्शनमा उपत्यका बाहिरका जनतालाई पनि सहभागी गराउन आह्वान गरेको छ। 

समितिका संयोजक नवराज सुवेदीको अध्यक्षतामा आइतबार बसेको बैठकले आन्दोलनमा काठमाडौँ बाहिरका जनताको व्यापक सहभागिता जुटाउने गरी आवश्यक तयारी गर्ने निर्णय निर्णय गरेको हो।

जेठ १५ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने घोषणा गरिसकेको समितिले आन्दोलनलाई सफल बनाउन आवश्यक तयारीबारे थप छलफल गरेको छ । ‘जेठ १५ गतेको आन्दोलनमा सहभागी हुन काठमाडौं बाहिरका जनतालाई राजधानी आउन आह्वान गर्ने निर्णय गरिएको छ,’ बैठकपछि जारी विज्ञप्तिमा , ‘काठमाडौं उपत्यकाका जनता तथा सबै वर्ग, पेशा र समुदायलाई सक्रिय सहभागिताका लागि पनि आह्वान गरिएको छ।’

सुवेदीले जेठ १५ गतेदेखि हुने आन्दोलन शान्तिपूर्ण हुने भन्दै त्यसको अनुगमन गर्न राष्ट्रिय मानव अधिकार आयोग तथा राष्ट्रिय अन्तर्राष्ट्रिय मानव अधिकार सङ्घसंस्थालाई आग्रह गरेका छन् । समितिले आन्दोलनलाई ऐतिहासिक बनाउने लक्ष्यसहित विभिन्न कार्यक्रम तय गर्ने तयारी गरेको जनाएको छ। 

बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायतको उपस्थिति रहेको थियो।