
जनआन्दोलन २०६२/०६३ पछि प्रत्येक जेठ १५ गते गणतन्त्र दिवस मनाइँदै आइएको छ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । हजारौँको बलिदान, लाखौँ नागरिक सडकमा उत्रिएर ल्याएको गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइन्छ ।
आगामी जेठ १५ गते केन्द्रविन्दु बनाएर एकातर्फ राजसंस्था पुनर्स्थापना, हिन्दूराष्ट्र घोषणालगायत मागसहित राजावादी शक्तिहरू सडकमा उत्रिन तयारी गरिरहेका छन् भने अर्कोतर्फ सत्तारूढ नेताहरू त्यसलाई प्रतिगमनको दुस्साहस भन्दै तीव्र प्रतिवाद गरिरहेका छन्।
राजावादीहरूको आन्दोलनको घोषणा
यसैदिन राजसंस्था र हिन्दूराष्ट्र पुनःस्थापनाको माग गर्दै गठित संयुक्त जनआन्दोलन समितिले जेठ १५ गतेदेखि काठमाडौंमा अनिश्चितकालीन आन्दोलनको घोषणा गरेको छ। समितिको संयोजक नवराज सुवेदीको नेतृत्वमा बसेको बैठकले आन्दोलन सफल बनाउन काठमाडौं बाहिरका जनतालाई समेत प्रदर्शनमा सहभागी हुन आह्वान पनि गरिसकेका छन् ।राजावादीको आन्दोलनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा नेपाल, तथा अन्य विभिन्न राजावादी संगठनहरूको समेत समर्थन रहेको छ। यी समूहहरू संघीयता खारेज, हिन्दूराष्ट्र पुनःघोषणा, र राजसंस्था पुनर्स्थापनाको माग उठाउँदै आएका छन्।
प्रधानमन्त्री ओलीको प्रतिवाद
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि जेठ १५ मा प्रस्तावित राजावादी आन्दोलनलाई कहिल्यै सफल नहुने सपना भनी टिप्पणी गरेका छन्। प्रतिनिधिसभामा सांसदहरूसँगको प्रश्नोत्तरका क्रममा उनले भने, ‘अब आउने कुनै पनि जेठ १५ पर्खनुहोस्, तपाईंहरूको सपना साकार हुने छैन।’
ओलीले बदलिँदो विश्व परिवेश र इतिहासलाई उल्लेख गर्दै राजतन्त्र जस्तो व्यवस्थाको युग समाप्त भइसकेको र अबको यात्रा लोकतन्त्र र संविधानअनुसार नै अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
प्रचण्डको चेतावनी
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीहरूको आन्दोलनप्रति कडा चेतावनी दिएका छन्। चैत १५ गते तीनकुनेमा राजावादीहरूद्वारा आयोजित प्रदर्शनलाई उनले बेलुन फुटेको संज्ञा दिँदै भने, ‘जेठ १५ मा अर्को बेलुनमा हावा भर्ने दुस्साहस नगर्न खबरदार गराउँछु।’
प्रचण्डले यसलाई गणतन्त्रको प्राप्तिमा गरिएको बलिदानीको अपमान भन्दै टिप्पणी गरेका छन्। उनले भने, ‘नेपालका उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदाय जो पहिचान र अधिकारको चेतनाद्वारा जागेका छन्, तिनीहरूलाई अब कसैले रोक्न सक्दैन।’
जेठ १५ एकातर्फ सडकमा राजसंस्था र हिन्दूराष्ट्रको पक्षमा आन्दोलन गरिँदैछ, अर्कोतर्फ सत्तारूढ र गणतन्त्र पक्षधर शक्तिहरू त्यसलाई संविधान र गणतन्त्रको अपमानका रूपमा लिँदै छन्। यो दिन नेपालका लागि केवल एउटा प्रदर्शनको दिन मात्र नभई राजनीतिक ध्रुवीकरण र भावी राजनीतिक दिशाको संकेत दिने मोड बन्न सक्छ।