काठमाडौं, वैशाख २८ :

प्रधानमन्त्री केपी ओलीले मानवीय, जैविक र न्यायोचित आवश्यकताको सहज आपूर्ति हुनुपर्छ भन्नेमा सरकार दृढ रहेको बताएका छन् ।

राष्ट्रिय सभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका विषयबारे जवाफपछि थप स्पष्टीकरणको समयमा प्रधानमन्त्री ओलीले सबैले सुरक्षित र सम्मानजक रुपमा बाँच्न पाउनुपर्ने भएकाले कुनै पनि प्रकारका भेदभाव नहुने स्पष्ट गरे ।

प्रधानमन्त्री ओलीले संविधानले समाजवादोन्मुख व्यवस्था गरेका सन्दर्भमा क्रमिक रुपमा त्यो लक्ष्य हासिल गरिने बताए ।

प्रधानमन्त्रीले संविधानको धारा २७० अनुसारको हक सबै नेपालीले प्राप्त गर्ने र त्यसआधारमा कसैमाथि अन्याय नहुने पनि बताए । उनले कसैलाई अत्याचार गर्ने विषय सरकारले सोच्न नसक्ने धारणा राखे ।

लोकतन्त्रको सुदृढीकरणका लागि वर्तमान सरकार बनेकाले संविधान, कानुनको पालना गरी उत्पन्न समस्या समाधानको हरसम्भव प्रयास हुने उनको भनाइ छ ।

निजी क्षेत्रसँगको सहकार्यमा उद्योगधन्दा निजीकरण गरिने कर्णालीको जैतुन र गुच्ची च्याउको बजारीकरणमा ध्यान दिइएको, दाङको विमानस्थल विस्तार हुने, मलखाद कारखाना शीघ्र स्थापना गरिने, म्याग्नेसाइटलगायत रुग्ण उद्योग सम्भावना छ भने पुनः सञ्चालनमा सरकार सकारात्मक रहेको प्रधानमन्त्री ओलीको आश्वासन छ ।