काठमाडौं, वैशाख २९ :

अहिले देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।

आज (सोमबार) दिउँसो कोसी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यत: सफादेखि आंशिक बदली रहनेछ । कोसी र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा र बाँकी पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका उच्च-पहाडी तथा हिमाली भू-भागका ‍एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

आज राति कोसी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यत: सफा रहनेछ । कोसीलगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च-पहाडी तथा हिमाली भू-भागका ‍एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।