काठमाडौं, वैशाख २९ :

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती सेवाको अधिकृत नवौँ तहका पदपूर्तिका लागि सञ्चालन गर्न लागिएको परीक्षा हाललाई स्थगित गरेको छ।

उक्त परीक्षा स्थगित गर्ने निर्णय सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशपछि गरिएको हो। आयोगले फागुन २० गते अधिकृत नवौँ तहका अप्राविधिक तथा प्राविधिक पदपूर्तिका लागि विज्ञापन खुला गरेको थियो।

त्यस विज्ञापनअन्तर्गत प्राविधिकतर्फ ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनका आधारमा ३० पदमा ३५ जना र कार्यक्षमता मूल्याङ्कनका आधारमा ४९ पदमा ५० जना पदपूर्तिका लागि परीक्षा सञ्चालन गर्ने तयारी गरिएको थियो।

तर, कृषि समूह र वन सेवा समूहका केही कर्मचारीले आन्तरिक प्रतिस्पर्धाको अवसर नपाइएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सो रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले वैशाख २२ गते आयोगको नाममा हाललाई परीक्षा कार्य स्थगित गर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

सर्वोच्चको आदेश आयोगमा प्राप्त भएपछि अघिल्लो सूचनाबमोजिमका सबै परीक्षा प्रक्रिया तत्कालका लागि अगाडि नबढाइने शाखा अधिकृत मिना जोशीले जानकारी दिइन्। अर्को आदेश नआएसम्मका लागि परीक्षा स्थगित गरिएको आयोगले स्पष्ट पारेको छ।