नयाँ दिल्ली, वैशाख २९ :

पाकिस्तानसँगको युद्धविरामपछि भारतले बन्द गरेका ३२ वटा विमानस्थल पुनः खोलेको छ । भारतीय विमानस्थल प्राधिकरणका अनुसार भारत प्रशासित काश्मीरको श्रीनगरदेखि पश्चिमी राज्य गुजरातको भुजसम्मका ३२ विमानस्थल खुला गरेको हो । 

प्रमुख भारतीय एयरलाइन इन्डिगोले पहिले बन्द गरिएका मार्गहरूमा क्रमशः सञ्चालन सुरु गर्ने जनाएको छ । 

भारत र पाकिस्तानबीच चार दिनसम्म भीषण लडाइँ सुरु भएपछि गत हप्ता ती विमानस्थल बन्द गरिएका थिए । विमानस्थल बन्द गरिएसँगै दुई मुलुकबीचको लडाइँ पूर्ण युद्धमा विकसित हुनसक्ने विश्वव्यापी चिन्ता सिर्जना गरेको थियो । 

युद्धविरामको घोषणा शनिबार गरिएको थियो, तर दुवै पक्षले तुरुन्तै एक अर्कामाथि यसको उल्लङ्घन गरेको आरोप लगाएका थिए । यद्यपि भारत र पाकिस्तान दुवैले सोमबार सीमावर्ती क्षेत्रहरू शान्त रहेको बताएका छन् ।