ढाका, वैशाख २९ :

प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले बंगलादेशका अन्तरिम सरकारका प्रमुख सल्लाहकार डा. मुहम्मद युनुससँग भेटवार्ता गरेकी छिन्। 

ढाकास्थित प्रधानमन्त्री कार्यालयमा सोमबार भएको भेटमा बङ्गलादेश सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले जलविद्युत्का क्षेत्रमा सहकार्य आवश्यक भएको बताए ।

भेटमा उनले बङ्गलादेश, नेपाल, भुटान र भारतको उत्तरपूर्वका सात राज्यबीच जलविद्युत्, स्वास्थ्य सेवा र सडक पूर्वाधारमा अन्तरदेशीय सहकार्य आवश्यक भएको बताए। 

प्राध्यापक युनुसले भने, ‘बङ्गलादेश, नेपाल, भूटान र भारतको उत्तरपूर्वीमा रहेका सातवटा राज्यबीचको एकीकृत आर्थिक योजना आवश्यक छ,’उनले भने, ‘ यसबाट हामीले छुट्टाछुट्टै भन्दा सँगै भएर धेरै फाइदा लिन सक्छौँ ।’ 

डा. युनुसले नेपाल र बङ्गलादेशबीच जलविद्युत्को क्षेत्रमा दरिलो सहकार्य गर्न सकिने पनि उल्लेख गरे । गत अक्टोबरमा बङ्गलादेश–नेपाल–भारतमाझ नेपालबाट बङ्गलादेशमा भारतीय ग्रीडमार्फत ४० मेगावाट विद्युत् ल्याउनका लागि त्रिपक्षीय सहमति भएको थियो ।

उनले बङ्गलादेशले यस क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तारमा प्रतिबद्धताका साथ काम गरिरहेको पनि उल्लेख गरे । प्रमुख सल्लाहकार युनुसले दुई देशबीच सडक सञ्जाल विस्तारबाट नेपालले उल्लेख्य मात्रामा व्यापारिक लाभ लिन सक्ने धारणा राखे ।  

त्यस अवसरमा उपसभामुख रानाले विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्यका लागि नेपालको इच्छुक रहेको उल्लेख गरिन् । ‘नेपालका सबै सांसदहरु बङ्गलादेशसँग नजिक रहेर काम गर्न चाहना राख्नुभएको छ,’ उनले भनिन् , ‘ हामी दुई देशबीचमा आर्थिक सहकार्य र नागरिकस्थरमा सम्बन्ध विस्तारमा गम्भीर छौँ ।’

उनले हाल बङ्गलादेशका मेडिकल कलेजमा दुई हजार सात सयभन्दा बढी नेपाली विद्यार्थी रहेको उल्लेख गर्दै त्यहाँको गुणस्तरीय शिक्षाको पनि प्रशंसा गरिन्। साथै उनले यसमार्फत दुई देशबीचमा शैक्षिक सहकार्य पनि गर्न सकिने सम्भावना औँल्याइन् । उनीहरुबीच  नेपाल-बंगलादेश व्यापार, लगानी, ऊर्जा, जडान, पर्यटन, साथै क्षेत्रीय र बहुपक्षीय मञ्चहरूमा सहकार्य प्रवर्द्धन गर्ने विषयमा गहन छलफल भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ।

भेटका अवसरमा बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारी, प्रमुख सल्लाहकार युनुसका दिगो विकास लक्ष्य कार्यक्रमका संयोजक लामिया मोरसेद र बङ्गलादेशका परराष्ट्र मन्त्रालयका महाप्रबन्धक इस्रात जहानलगायतको उपस्थिति थियो ।