
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा सचेतक निशा डाँगीले जेनजी पुस्ताले विकासमा गति ल्याउने स्थिर सरकार चाहेको बताएकी छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले जेनजी पुस्ताको भविष्य सुनिश्चित गर्ने गरी नीति निर्माण गर्न सरकारसँग माग गरिन्। ‘हाम्रो पुस्ताले अब पाका नेताबाट आशा राखेको छैन,’ उनले भनिन्, ‘हामी नयाँ अनुहार र नयाँ सोचको नेतृत्व चाहन्छौं ।’
उनका अनुसार जेनजी पुस्ताले केवल डिग्री होइन, गुणस्तरीय शिक्षा, रोजगारी, उद्यमशीलतामा प्रोत्साहन, तथा सीप विकासका अवसरहरू पनि खोजिरहेको छ ।
‘यस वर्ष जेनजीको बारेमा धेरै चर्चा भए, तर ती छलफलहरूले हाम्रो वास्तविक आवश्यकता बुझ्न सकेनन्,’ उनले भनिन्, ‘हाम्रो माग छ- स्थिर सरकार होस्, जसले विकासमा गति ल्याओस् र भविष्य सुनिश्चित गरोस् ।’
डाँगीले नेतृत्वमा पुस्तान्तरण आवश्यक भएको उल्लेख गर्दै भनिन्, ‘हामी जन्मिनुअघि प्रधानमन्त्री भइसकेका नेताहरूको डेट एक्सपायर भइसक्यो । अब परिवर्तनको समय हो ।’