
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) की सांसद डा. तोसिमा कार्कीले राष्ट्रिय गौरवको परियोजना भनिएको काठमाडौँ-तराई-मधेस द्रुतमार्ग निर्माण अहिलेसम्म पनि सम्पन्न हुन नसकेकोप्रति सदनमार्फत सरकारको ध्यानाकर्षण गराएकी छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले वर्षौंदेखि परियोजनाको प्रस्थान बिन्दबारे अन्योल कायमै रहँदा स्थानीय बासिन्दा र नेपाली सेनाबीच पटक–पटक झडप र वादविवाद हुने स्थिति बनेको बताइन् । सांसद कार्कीले यस्तो अवस्था आउनु राज्यको अकर्मण्यताको परिणाम भएको टिप्पणी गर्दै चिन्ता व्यक्त गरिन्।
‘राष्ट्रिय गौरवको योजना भनेर चिनिएको यो परियोजना वर्षौँदेखि अलपत्र पारिएको छ। त्यसकै कारण नेपाली नेपालीबीच झडप हुने परिस्थिति विकास भएको छ,’ सांसद कार्कीले भनिन्, ‘स्थानीय नागरिक र जनजातिसँग समन्वय तथा सहकार्य गरेर परियोजनालाई अघि बढाउन सरकार र सदनलाई आग्रह गर्छु।’
उनले राष्ट्रिय योजनामा जनताको सहभागिता र सहमति अत्यावश्यक रहेको उल्लेख गर्दै सरकारले संवादमार्फत समाधान खोज्नुपर्ने आवश्यकता औंल्याइन्।