काठमाडौं, वैशाख ३० :

काठमाडौं महानगरपालिकाको केन्द्रीय कार्यालयमा रहेका शौचालयबाट उत्पादन भएको फोहोर पानी प्रशोधन गर्न दैनिक ५ हजार लिटर प्रशोधन क्षमताको ट्रिटमेन्ट प्लान्ट स्थापना गरिएको छ ।

बिजुलीबाट चल्ने यो प्रणालीमा एरोबिक र एनएरोबिक दुवै विधिबाट फोहोर पानी प्रशोधन हुन्छ । यसको लागत करिब २० लाख रुपैयाँ हो ।

‘यो नमुना योजना हो । यसको नतिजा हेरेर विस्तार गर्नेछौं,’ कार्यक्रमबारे जानकारी दिँदै वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राई भन्छिन्, ‘काठमाडौंको स्वच्छताका लागि घरेलु फोहोर व्यवस्थापनसँगै तरल फोहोर व्यवस्थापन आवश्यक छ । सानातिना एकाइमा यसको प्रयोगलाई अहिले हामीले परीक्षण गरेका हौं ।’

‘३.६० मिटर लम्बाइ, १.२० मिटर चौडाइ र १.९८ मिटर उचाइ भएको प्लान्टभित्र ४ वटा च्याम्बर छन्,’ वरिष्ठ इन्जिनियर निशा कोइराला प्रणालीको प्राविधिक पक्षबारे जानकारी दिँदै भन्छिन्, ‘शौचालयबाट केही ठोससहितको फोहोर पानी प्लान्टमा पुगेपछि पहिले सेडिमेन्टेसनबाट तरल र ठोस छुट्टिन्छ । त्यसपछि एनएरोबिक विधि (अक्सिजन दिनु नपर्ने विधि) बाट प्रशोधन सुरु हुन्छ । तेस्रो चरणमा एरोबिक (अक्सिजन दिनुपर्ने विधि) बाट, चौथो चरणमा फिल्ट्रेसन र डिस्इन्फेक्सन गरिन्छ । यसबाट उत्पादन हुने पानी दुर्गन्धरहित हुन्छ । बोटविरुवामा हाल्न मिल्ने हुन्छ ।’

विभागका इन्जिनियर रामप्रसाद नेपालका अनुसार प्लाजा परिसरमा ७२ वटा शौचालय छन् । उनका अनुसार अहिले ४४ शौचालयबाट आउने तरल पानीलाई नमुनाका रुपमा प्रशोधन गरिएको छ । यसबाट प्राप्त भएको नतिजाका आधारमा प्लान्टको क्षमता बढाएर थप शौचालयको तरल पानी मिसाइनेछ ।

प्लाजामा दैनिक करिब ९ हजार लिटर पानीको प्रयोग हुने गरेको उनको भनाइ छ ।