
नेपाल सरकारले दक्षिण कोरियामा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई दिइँदै आएको वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) स्थगित गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार सूचना जारी गर्दै कोरियाको डी-टू र डी–-फोर भिसामा अध्ययन गर्न चाहने विद्यार्थीलाई एनओसी नदिने निर्णय लिएको हो। मन्त्रालयले विद्यार्थीहरूको अध्ययन निरन्तरता, सुरक्षासम्बन्धी चिन्ता र नियमनको आवश्यकतालाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको जनाएको छ।
सरकारले विद्यार्थीहरूले अध्ययनको सट्टा रोजगारीलाई प्राथमिकता दिने, कम स्टडी आवर भएका तथा कोरियाले कालोसूचीमा राखेका विश्वविद्यालयहरूमा भर्ना हुने प्रवृत्ति बढ्दै गएकाले समस्या उत्पन्न भएको बताएको छ। यसले अवैध रूपमा काम गर्न प्रेरणा मिल्ने, पढाइ प्रभावित हुने जस्ता चिन्ता बढेको सरकारको भनाइ छ।
डी–टू र डी–फोर भिसा व्यवस्थापनका लागि कार्यदल गठन गरिएको छ र त्यसको प्रतिवेदन आएपछि मात्र अगाडि थप निर्णय गरिने मन्त्रालयले स्पष्ट पारेको छ।
