
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । गत चैत १५ गते तीनकुने घटनामा संलग्न भएको अभियोगमा पक्राउ परेका मिश्रलाई यो सँगै आठौं पटक म्याद थप भएको छ ।
मिश्रमाथि प्रहरीले राज्यद्रोह, संगठित अपराध, आपराधिक उपद्रव कसुरमा अनुसन्धान गरिरहेको छ । राजावादीको प्रदर्शन हिंसात्मक भएपछि त्यसमा भूमिका खेलेको उनीमाथि आरोप छ ।
मिश्रसँगै पक्राउ परेका राप्रपा महामन्त्री डा. धवलशमशेर राणालाई स्वास्थ्य अवस्थाको कारण थुनाबाहिर छन् भने त्यस दिनको आन्दोलनका कमान्डर दुर्गा प्रसाईं पनि थुनामै छन् ।
यसैबीच, मिश्रलाई पक्राउ गर्ने र हिरासतमा राख्न अनुमति दिने जिल्ला अदालत काठमाडौंविरुद्ध बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ ।
आफ्ना पतिलाई सरकारले गैरकानुनी थुनामा राखिएको दाबी गर्दै सारिका कार्कीले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गरेकी हुन् ।