धनगढी, वैशाख ३१ :

सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बन्ने लगभग निश्चित भएको छ।

पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले चौधरीलाई मन्त्री बनाउने प्रस्तावसहित प्रदेश संसदीय दललाई निर्देशनात्मक पत्र पठाएपछि उनको मन्त्री पदमा पुनः नियुक्ति निश्चितजस्तै देखिएको हो।

यसअघि चौधरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री थिए। हिजो बसेको संसदीय दलको बैठकले मन्त्रीको नाम टुंगो लगाउन नसकेपछि निर्णयको जिम्मा अध्यक्ष श्रेष्ठ र संरक्षक रेशम चौधरीलाई सुम्पिएको थियो।

दलका प्रमुख सचेतक इन्दिरा गिरीका अनुसार आजै चौधरीको नाम सिफारिस हुने सम्भावना छ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय यसअघि लक्ष्मण किशोर चौधरीले सम्हाल्दै आएका थिए। तर, विवादास्पद अडियो प्रकरणपछि चैत १३ गते उनले राजीनामा दिएपछि मन्त्रालय खाली रहेको छ।