विराटनगर, वैशाख ३१ :

गृहमन्त्री रमेश लेखकले संविधान र व्यवस्थाविरोधी कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पारेका छन्। नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री लेखकले संविधानको कार्यान्वयनमा देखिएका कमजोरीलाई राष्ट्रिय सहमतिका आधारमा संशोधन गरिने जानकारी दिए।

उनले शान्तिसुरक्षा कायम गर्न प्रहरी संगठनलाई बलियो बनाउन यस आर्थिक वर्षभित्र नयाँ प्रहरी ऐन ल्याउने प्रतिबद्धता व्यक्त गरे। साथै, लागुऔषध, आत्महत्या, सडक दुर्घटना र अवैध कारोबार नियन्त्रण गर्दै जनताको सुरक्षा सुनिश्चित गर्न सरकारले ठोस कदम चालिरहेको बताए।

सीमावर्ती क्षेत्रमा अवैध धन्दा रोक्न सुरक्षा संयन्त्रलाई ३० दिने अल्टिमेटम दिइएको उल्लेख गर्दै उनले त्यसको सकारात्मक परिणामस्वरूप राजस्वमा वृद्धि भएको जानकारी दिए। श्रमजीवी पत्रकारको सेवा, सुविधा सुनिश्चित गर्न नीतिगत छलफल भइरहेको पनि उनले बताए।

मन्त्री लेखकले पत्रकारिता पेशा जोखिमपूर्ण भएकाले प्रेस स्वतन्त्रताको संरक्षण र पत्रकारसँग जोडिएका समस्यामा ऐक्यबद्धता आवश्यक रहेको धारणा व्यक्त गरे।