
कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ। न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले बुधबार थुनछेक बहसपछि रिहाको आदेश दिएको हो।
सांसद राई विगतमा स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समिति सदस्य र सहसचिवको जिम्मेवारीमा रहेकी थिइन्। उनी कार्यरत रहेको समयमा करिब २ करोड ५० लाख रुपैयाँ अपचलन भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। राई संलग्न रहेको समयमै ८९ लाख रुपैयाँ अपचलन भएको र सूचीकृत नभएका संस्थामा समेत लगानी गरिएको पाइएको छ।
सहकारीका २० जना बचतकर्ताले राईसहितका विरुद्ध जाहेरी दिएका थिए। ३७ लाख रुपैयाँभन्दा बढी हिनामिना भएको प्रमाण भेटिएको छ। यसअघि २१ पुसमा सोही प्रकरणमा ६९० जना बचतकर्ताको १ अर्ब १९ करोड रुपैयाँभन्दा बढी रकम हिनामिनासम्बन्धी मुद्दा दर्ता गरिएको थियो।
त्यसबेला सांसद राईलाई उन्मुक्ति दिइएकोमा आलोचना भएपछि १३ वैशाखमा प्रहरीले उनलाई कपनबाट पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा उनले सहकारीसम्बन्धी कागजातमा गरेको हस्ताक्षर स्वीकार गरेकी छन्।