आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

‘नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध, दुई देशबीचका सम्झौता कार्यान्वयन गर्न सबैको अग्रसरता आवश्यक छ’

प्रधानमन्त्रीसँग चिनियाँ जनकंग्रेसका उपाध्यक्षको शिष्टाचार भेट
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १ जेठ, २०८२ मा प्रकाशित
‘नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध, दुई देशबीचका सम्झौता कार्यान्वयन गर्न सबैको अग्रसरता आवश्यक छ’
काठमाडौं, जेठ १ :

प्रधानमन्त्री केपी ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ जनकंग्रेसको स्थायी समितिका उपाध्यक्ष सिआओ ची नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।

प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा आज (बिहीबार) भएको भेटमा चिनियाँ टोलीले यही जेठ २ गतेदेखि काठमाडौंमा हुने सगरमाथा संवादको सफलताको कामना गर्दै दुई देशबीचको लामो र मित्रवत् सम्बन्धलाई अझ अभिवृद्धि गर्न चीन तत्पर रहेको जनाएको छ । उपाध्यक्ष सिआओले नेपालको विकास र समृद्धिका लागि चीनियाँ नेतृत्वको शुभेच्छा रहेको अवगत गराउँदै गत डिसेम्बरमा प्रधानमन्त्री ओलीबाट भएको चीनको औपचारिक भ्रमण सफल रहेको स्मरण गरे ।

प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच लामो समयदेखि मित्रवत् र समस्यारहित एवं हार्दिक सम्बन्ध रहीआएको उल्लेख गर्दै चीनले विकास र प्रविधिका क्षेत्रमा तीव्र रुपमा गरेको विकास र त्यसको विश्वव्यापी प्रभावबाट आफू प्रशन्न रहेको बताए ।

प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चीनफिङको पछिल्लो नेपाल भ्रमणको स्मरण गर्दै उक्त भ्रमण बहुआमिक र ऐतिहासिक रहेको उल्लेख गरे । उनले नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको दोहोर्याउँदै दुई देशबीच भएका सहकार्यका सम्झौताको कार्यान्वयनका लागि सबै पक्षबाट अग्रसरता लिनुपर्नेमा जोड दिए ।

भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपालका लागि चिनियाँ राजदूत चन सोङ र चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओली, परराष्ट्र मन्त्रालयका उच्चाधिकारीलगायतको सहभागिता थियो ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार