
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा सांसद विमलेन्द्र निधि । फाइल तस्बिर।
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा सांसद विमलेन्द्र निधिले जेठ १५ गते प्रस्तुत गरिँदै आएको वार्षिक बजेटको मिति परिवर्तन गर्न सुझाव दिएका छन्। गणतन्त्र दिवसकै दिन बजेट पेस हुने परम्परा गणतन्त्रको गरिमा कमजोर बनाउने भन्दै उनले यो मिति फेरिनुपर्ने धारणा राखेका हुन्।
सांसद निधिले प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै भने, ‘जेठ १५ गते गणतन्त्र दिवस हो, जुन हाम्रो इतिहासको अत्यन्त महत्त्वपूर्ण उपलब्धि हो। त्यही दिन बजेट ल्याइनु दुवै विषयको गहिरो अर्थलाई कमजोर पार्न सक्छ।’
उनका अनुसार गणतन्त्र दिवसको गम्भीरताको सन्देश दिन र त्यसको महत्व कायम राख्न बजेट पेसको मिति सारिनु आवश्यक छ। ‘गणतन्त्र र बजेट दुवै महत्त्वपूर्ण विषय हुन्, तर गणतन्त्रको ऐतिहासिक मूल्य धेरै ठुलो छ,’ उनले तर्क गरे।
निधिले संविधानमै बजेट जेठ १५ गते प्रस्तुत गरिने व्यवस्था भएकाले त्यसमा संशोधन गर्नुपर्ने प्रस्ताव पनि अघि सारे। ‘संविधानले १५ गते भनेको हो भने संविधान संशोधन गरौं,’उनको सुझाव थियो, ‘ताकि गणतन्त्र दिवसलाई प्राथमिकतामा राख्न सकियोस्।’ गणतन्त्र दिवसको राष्ट्रिय महत्त्वबारे पुनर्विचार गर्ने बहसलाई उनको प्रस्ताव बल पुर्याएको छ।