
काठमाडौंको बनस्थलीस्थित चार्जिङ सेन्टरबाट चोरी भएको माइक्रोबस धादिङमा फेला परेको छ। प्रहरीले विद्युतीय माइक्रोबससहित १९ वर्षीय युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ।
बागमती प्रदेश ०१–००२ ज ६७६६ नम्बरको उक्त माइक्रोबस काठमाडौं महानगरपालिका–१६, बनस्थलीस्थित विश्वकर्मा बाबा वर्कशप तथा चार्जिङ सेन्टरको पार्किङबाट वैशाख २९ गते बिहान करिब ४:३० बजे चोरी भएको थियो।
स्याङ्जाको बिरुवा गाउँपालिका–१ स्थायी घर भई हाल बनस्थलीमै बसोबास गर्दै आएका सुदीप थापाले माइक्रोबस चोरी गरी धादिङ पुर्याएको खुलेको छ। जिल्ला प्रहरी कार्यालय धादिङको सहयोगमा माइक्रोबस फेला पारिएको र थापालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।
प्रहरीका अनुसार थापाविरुद्ध चोरीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। चोरीको अनुसन्धानसँगै माइक्रोबस कसरी र कुन उद्देश्यले लगिएको थियो भन्ने विषयमा समेत थप खुलासा हुने प्रहरीले जनाएको छ।