काठमाडौं, जेठ २ :

राष्ट्रपति रामचन्द्र पौडेलले बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता रहेको नेपालमा मुस्लिम समुदायको संस्कृति, कला र परम्पराको आफ्नै महत्त्वपूर्ण विशिष्टता रहेको बताएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार बिहान मक्का मदिनामा यस वर्ष हज गर्न जान लागेका हजयात्री (हाजी) लाई शुभकामना दिने क्रममा उनले यस्तो धारणा व्यक्त गरेका हुन् । ‘विविध जातजाति, समुदाय, भाषाभाषी, संस्कृति रहेको हाम्रो देशमा यसको संरक्षण र संवर्द्धनका लागि सबै एकसाथ मिलेर लाग्न र यसकै माध्यमबाट आपसमा भाइचारा, मित्रता र सद्भाव बढाउँदै राष्ट्रिय एकतालाई बलियो बनाउन आवश्यक छ,’ उनले भने, ‘हजयात्राले यसमा ठुलो योगदान दिने विश्वासका साथ तपाईंहरूको यात्रा सफलताको पुनः शुभकामना व्यक्त गर्दछु ।’

उनले परापूर्वकालदेखि नै नेपाल राज्य निर्माणमा यो समुदायको महत्त्वपूर्ण योगदान रहेको बताए । ‘पवित्र आस्था र विश्वास बोकेर जाने हजयात्रीको सहजताका लागि सबै खालको सुविधा उपलब्ध गराउन सम्बन्धित निकायले ध्यान दिने नै छ भन्ने मैले विश्वास लिएको छु,’ उनले भने, ‘हज कार्यलाई व्यवस्थित रुपबाट सञ्चालन गर्न समयानुकूल आवश्यक नीति, नियम  र प्रबन्ध मिलाउनुपर्नेतर्फ सरोकारवालाको ध्यानाकर्षण गराउन चाहन्छु ।’

हाजीहरुको बिदाइ गर्दै राष्ट्रपति पौडेलले हजयात्रीलाई गम्छा र टोपी लगाएर शुभकामना दिएका थिए । मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष मोहमुद्दिन मियाँले राष्ट्रपतिबाट पहिलोपटक यसरी हजयात्रीलाई हजयात्राका लागि राष्ट्रपति भवनमा शुभकामनासहित बिदाइ गरिनु गौरवको विषय भएको धारणा राखे ।