काठमाडौं, जेठ २ :

नेपाल विद्युत् प्राधिकरणले ४ सय केभी ढल्केबर-मुजफ्‌फरपुर प्रसारण लाइनको दुवै सर्किटमा समस्या आउँदा हिजो (बिहीबार) साँझ बिजुली अवरुद्ध भएको जनाएको छ । प्राविधिक कारणले विद्युत् अवरुद्ध भए पनि लोडसेडिङ सुरु नभएको प्राधिकरणको दाबी छ ।

विद्युत् प्रणाली सञ्‍चालन विभागमा प्राधिकरणले शुक्रबार पत्रकार सम्मेलन गरेर नेपालमा पुनः लोडसेडिङ सुरु नहुने जनाएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले इन्भर्टर र मैनबत्तीको दिन आए भन्दै सामाजिक सञ्जालमा अभिव्यक्त भनाइमा कत्ति पनि सत्यता नरहेको दाबी गरे ।

मौसमजन्य गतिविधिका कारण विद्युतीय संरचनामा भएको क्षति तथा विविध प्राविधिक समस्याका कारण सिर्जना भएको प्रतिकूल अवस्थालाई लोडसेडिङसँग जोडी ‘अब इन्भर्टर र मैनबत्तीको दिन आए’ भन्दै सामाजिक सञ्‍जालमा अभिव्यक्त भनाइमा कत्ति पनि सत्यता नरहेको शाक्यको दाबी छ । ‘अब नेपालमा पुनः लोडसेडिङ सुरु हुने दिन आउँदै नआउने व्यहोरा आमउपभोक्तालाई जानकारी गराउँदछौं,’ प्राधिकरणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रधिकरणका अनुसार बिहीबार साँझ ५:३५ देखि ८ बजेसम्म देशको अधिकांश स्थानको विद्युत् आपूर्तिमा समस्या भएको थियो । हावाहुरीका कारण ढल्केबर-मुजफ‍्‌फरपुर ४०० केभी डबल सर्किट लाइनको दुवै सर्किटमा एकसाथ समस्या आउँदा नेपालमा उक्त लाइनमार्फत आपूर्ति हुँदै आएको विद्युत् अवरुद्ध भएको प्राधिकरणले जनाएको छ ।

रक्सौल-परवानीपुर, मनैया-सम्पतिया, कुशहवा-कटैया १३२ केभी प्रसारलाइनमार्फत नेपालतर्फको विद्युत् गृहहरु सञ्चालन गरी आपूर्ति व्यवस्था मिलाउन प्रयास गरिएको प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले बताए ।

विद्युत् प्रणालीमा समय समयमा देखिने प्राविधिक समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न प्राधिकरण प्रतिबद्ध रहेको जनाएको छ ।

उनले लोडसेडिङ गर्न हुँदैन भन्ने उद्देश्यका साथ उद्योगमा पनि लोडसेडिङ घटाएको दाबी गरे । उनले भारतबाट ल्याएर वा महँगोमा बिजुली किनेर भए पनि उद्योगधन्दामा भएको लोडसेडिङलाई घटाउने दाबी गरे ।

कार्यकारी निर्देशक शाक्यले भारतबाट बिजुली खरिद गर्न निर्देशन दिएको जानकारी गराउँदै घाटा लाग्छ भन्दैमा विद्युत् कटौती नहुने जिकिर गरे ।

उनले गत वर्षको यहीँ समयमा बेलाबेलामा विद्युत् कटौती भइरहे पनि त्यतिबेला कोही कसैले आपत्ति नजनाएको जिकिरसमेत गरे ।