काठमाडौं, जेठ २ :

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र भारतका वन, वातावरण तथा जलवायु परिवर्तनसम्बन्धीमन्त्री भुपेन्दर यादवबीच भेटवार्ता भएको छ । परराष्ट्रमन्त्री राणा र सगरमाथा संवादका लागि नेपाल आएका भारतीय मन्त्री यादवबीच आज (शुक्रबार) साइडलाइन भेटवार्ता भएको हो ।

त्यस अवसरमा नेपाल-भारत सम्बन्धका विविध आयामहरुका साथै आपसी, हित र सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको थियो । भेटमा राणाले नेपालले अयोजना गरेको सगरमाथा संवादको पहिलो संस्करणमा सहभागी भएकामा भारतीय मन्त्री यादव र भारत सरकारलाई धन्यवाद व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।

नेपाल र भारतबीच जैविक विविधता संरक्षणका क्षेत्रमा आज समझदारीपत्रमा हस्ताक्षर भएको प्रसंग उल्लेख गर्दै उनीहरुले उक्त सम्झौता दुई देशका लागि यस क्षेत्रको महत्त्वपूर्ण रहेको उल्लेख गरे ।

नेपाल र भारतबीच पछिल्लो समयमा जारी रहेका द्विपक्षीय भेटवार्ताहरु, औपचारिक बैठक, विविध विषयमा भइरहेका इन्गेजमेन्टका बारेमा पनि कुराकानी भएको थियो ।

साथै जलवायु परिवर्तनको मुद्दा नेपाल र भारतको साझा मुद्दा भएकाले यसको असरलाई कम गर्ने विषयमा के कसरी सहकार्य गरेर अघि बढ्न सकिन्छ भन्ने बारेमा कुराकानी भएको परराष्ट्रमन्त्री राणाको सचिवालयले जनाएको छ । सगरमाथा संवादमा सहभागिताका लागि भारतीयमन्त्री यादव बिहीबार काठमाडौं आएका हुन् ।